मध्यपुरमा सम्पदा पदयात्रा, स्थानीय उत्साहित

भक्तपुर –  भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सम्पदा पद यात्रा सम्पन्न भएको छ ।

विश्व सम्पदा दिवसको अवसर पारेर एनएमबी बैंकले नेपाल सम्पदा सङ्घ र मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा १२ औँ एनएमबी बैङ्क सम्पदा पदयात्रा गरेको हो ।

नगरपालिका भित्रका विभिन्न सम्पदाहरू अवलोकन गदै सरोकारवालाले सम्पदाहरूको संरक्षण र संवर्धन एवम् प्रचार प्रसारमा टेवा पुर्‍याउदै पर्यटन उद्योगको विकास गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

मौलिक बाजागाजासहित स्थानीय शंखधर चोकबाट सुरु भएको पदयात्रा बालकुमारी मन्दिर, लोकेश्वर मन्दिर, थिमि लायकु दरबार, दिगु भैरव मन्दिर, नग देशको लाछिटोलस्थित सिद्धि गणेश मन्दिर, बोडेको भाँगु महालक्ष्मी मन्दिरहुँदैं बोदेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा स्थल पाचो गणेश मन्दिर परिसरमा पुगेर समापन भएको हो ।

पदयात्राका क्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका ७५० बढी मूर्त अमूर्त सम्पदाहरूको थप प्रचार प्रचार गरी पर्यटन उद्योगको विकास गरिने बताउनुभयो ।

मध्यपुर महोत्सव पश्चात् यस नगरपालिकामा दैनिकरुपमा विदेशी पर्यटकको आगमन बढिरहेको स्थानीयले चर्चा गरेका छन् । सम्पदा पदयात्राले मध्यपुरको पर्यटनमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ ।

होम स्टे सञ्चालन गर्ने र पर्यटकलाई आवश्यक हस्पिटालिटी सहितका योजनाहरू ल्याउन नगर बासीले नगरपालिकासँग अपेक्षा गरेका छन् । कार्यक्रममा हरेक वर्ष विभिन्न संघ संस्थासँगको सहकार्यमा स्थानीय स्तरमा जनतालाई सम्पदा संरक्षण सम्बन्धमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गर्दै आइरहेको विश्व सम्पदा सङ्घका अध्यक्ष धर्म शाक्यले बताउनुभयो ।

यस्तै मध्यपुर थिमि सम्पदाको धनी सहर भएकाले आफ्नो नजरपनि सम्पदा क्षेत्रमै परेको एनएमबी बैंकका सञ्चालक वन्दना पाठकले बताउनुभयो । सम्पदाहरूको जानकारी सबैलाई दिन नसक्दा यसबाट हुने लाभ लिन नसकिरहेको उहाँको जिकिर छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सम्पदा पदयात्राले महत्त्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ । सो अवसरमा एनएमबी बैंकले नेपाल सम्पदा संघलाई ५ लाख रुपैंया र मध्यपुर थिमि नगरपालिकालाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

विश्व सम्पदा क्षेत्रमा हाल काठमाण्डौंको वसन्तपुर, ललितपुरको पाटन र भक्तपुरको भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.