दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला- दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो ।
जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप अभाव भएको अस्पतालका सूचना अधिकारी भट्टले बताउनुभयो । खोप अभाव भएपछि अस्पतालले सूचना जारी गर्दै सेवाग्राहीमा जानकारी गराएको छ ।
अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जनाएको छ ।
अस्पतालमा रेविजविरुद्धको खोप अभाव भएको तथा बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर संजीव श्रेष्ठले बताउनुभयो ।जिल्ला अस्पताल दार्चुलाबाट बैशाख महिनाको हालसम्म ३६ जनाले रेबिज रोगविरुद्धको खोप लिइरहेकोमा अहिले खोप अभाव हुँदा समस्या परेका छन् ।
जिल्लाका अन्य ठाउँमा समेत खोप नभएपछि भारतीय बजारका मेडिकलबाट खरिद गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट आपूर्ति कम भएका कारण प्रदेश आपूर्ति केन्द्रमा समेत खोप अभाव रहेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्