राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ- राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान सहर तर्फ प्रस्थान गर्नुभएको छ ।
उपाध्यक्ष विमला घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो ।
मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान सहरमा यही जेठ ५ गतेदेखि १० गते ( May 19-24) सम्म आयोजना गरिएको शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च (Shanghai Cooperation Forum on Poverty Reduction and Sustainable Development) र नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बिच सहयोगको लागि लगानी तथा व्यापार मञ्च (9th Silk Road International Exposition and the Investment and Trade Forum for Cooperation between East and West China) कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नुहुनेछ ।
उहाँ सँगै प्रतिनिधि सभा सदस्य द्वय माननीय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका माननीय सदस्य द्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ ।
चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधि मण्डल स्वदेश फर्कने कार्यक्रम छ।






प्रतिक्रिया राख्नुहोस्