धनकुटाको साँगुरी गढी र पाख्रिबासमा रेडियो बहस सम्पन्न

धनकुटा- सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले धनकुटाको साँगुरी गढी गाउँपालिका र पख्रिबास नगरपालिका कृषि, पर्यटन विषयमा स्थलगत बहस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा पर्यटन र कृषि क्षेत्रको हालको अवस्था, चुनौती, भावी योजना र सुधारका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा रेडियो नेपालको तर्फबाट अर्जुन श्रेष्ठ र रमेश भट्टले बहस कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने धनकुटा संवाददाताले कार्यक्रमको सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो।
धनकुटाको साँगुरी गढी गाउँपालिकामा भएको बहस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बू, पर्यटनकर्मी लीलाराज लावती लगायतका आम नागरिकहरूले रेडियो बहस कार्यक्रममा सहभागिता जनाउनु भयो।
कार्यक्रममा पर्यटनका विषयमा कोसी प्रदेशको पर्यटन केन्द्रको रूपमा रहेको भेडेटार बजार सिँगारिनु पर्ने, भेडेटार आसपासका पर्यटकीय केन्द्रमा पर्यटनको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको, भेडेटार रवि राँके सडकको निर्माण छिटो हुनुपर्ने, गाउँ बस्ती स्तरका सडकहरू बिस्तार गरिनु पर्ने, राज्य सञ्चालन संयन्त्रमा भेडेटारको पहुँच कम भएकाले भने जति विकासले गति लिन नसकेको विषयमा बहस भएको थियो ।
यसै गरी बहसमा पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास, स्थानीय स्तरमा लगानीको सम्भावना, रोजगारी सृजना तथा समग्र आर्थिक वृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले भेडेटार तथा आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्न सहजीकरण, प्रचार–प्रसार गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उपायहरू लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
यता पख्रिबास नगरपालिकामा भएको बहस कार्यक्रममा नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आर्थिक कोरिडोर कार्यालय) केन्द्रीय कार्यालयका वरिष्ठ कृषि अधिकृत डा. नन्द किशोर यादव, आयोजना धनकुटाका प्रमुख डा. इन्द्रनारायण शाह सहित आर्थिक कोरिडोर कार्यालयबाट सेवा लिइरहेका आम नागरिकहरूले रेडियो बहस कार्यक्रममा सहभागिता जनाउनु भयो।
कार्यक्रममा कोसी प्रदेशमा कृषिको क्षेत्रमा पख्रिबास अग्रणी रहेको र पशुपालन तथा तरकारी खेतीमा पख्रिबास अग्रणी रहे पनि यसमा सरकारको आँखा कम पुगेको विषयमा बहस भएको थियो । यसै गरी बहसमा कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार, स्थानीय स्तरमा लगानीको सम्भावना, रोजगारी सृजना तथा समग्र आर्थिक वृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले पाख्रिबासमा भएको स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उपायहरू लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा साँगुरी गढी गाउँपालिका र पख्रिबास नगरपालिकामा भिन्दाभिन्दै आयोजना गरिएको बहसले स्थानीय पर्यटन र कृषि क्षेत्रका चुनौतीहरू उजागर गर्नुका साथै समाधानका उपायबारे गहिरो विमर्श गरेको छ।






प्रतिक्रिया राख्नुहोस्