असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने जनाएको छ।

महाशाखाका अनुसार मौसम तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। यसको प्रभावले नेपालमा मनसुनी गतिविधि केही बढेको महाशाखाले जनाएको छ।

हालसम्मको प्रक्षेपणअनुसार असोज ७ गते अर्थात् सेप्टेम्बर २३ को आसपास ‘डिप्रेसन’ (न्यून चापीय क्षेत्र) थप बलियो भई दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ।

 यस प्रणालीका कारण नेपालमा वर्षा गराउने गतिविधि बढ्न सक्ने भए पनि वर्षाको जोखिम र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले जनाएको छ।

महाशाखाले प्रणालीको निरन्तर निगरानी भइरहेको र आवश्यकताअनुसार थप सूचना सार्वजनिक गर्दै जाने जनाएको छ। साथै मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.