संरक्षणको पर्खाइमा लोपोन्मुख हायु जाति

रामेछाप – केही वर्ष अगाडि सम्म रामेछाप बजारका साहु , महाजनहरूका लागि खलखली पसिना बगाउने वादी गाउँका हायुहरूको जीवन स्तरमा अहिले निकै परिवर्तन आएको छ । गाउँमा बाटो पुगेको छ, खानेपानी लगायतका कुराहरूको सुविधा भएको छ , सरकारले जन्मने बित्तिकै भत्ता उपलब्ध गराउँछ । शिक्षामा थोरै भए पनि पहुँच वृद्धि भएको छ । तर पनि गाउँलेको नियमित आम्दानीको श्रोत नहुँदा उनीहरू अहिले पनि आर्थिक रूपमा संरक्षणको पर्खाइमा छन् ।
रामेछाप बजारबाट झन्डै एक घण्टाको दुरीमा लोपोन्मुख हायुहरूको गाउँ छ । सो गाउँका हायुहरूको आम्दानीको मुख्य श्रोत कृषि नै हो । बिहान , बेलुकाको जोहो यसैबाट हुन्छ । करिब २५ जनाले मात्र एसइई परीक्षा उत्तीर्ण गरेको यो समुदाय नेपालको लोपोन्मुख जातिको सूचिमा छ । यो गाउँबाट थोरैले मात्र स्नातक उत्तीर्ण गरेका छन् । पछिल्लो जनगणनाअनुसार देशभर यिनीहरूको सङ्ख्या करिब ३ हजार मात्र रहेको छ । सिन्धुलीमा छिटपुट मात्र भेटिने हायुको अधिकांश सङ्ख्या रामेछापमा रहेको छ ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ वादीमा ३६ परिवार हायुको बसोबास रहेको स्थानीय हायुहरू बत्ताउँछन् । विभिन्न कारणले पछाडि परेका हायुको संरक्षणका लागी सरकारले थप काम गर्नु पर्ने स्थानीय जमुना हायु बताउनु हुन्छ । हायु संरक्षणको कुरा व्यवहार मा नभएर बोलीमा मात्र सीमित राखेको स्थानीय रामबहादुर हायु गुनासो गर्नुहुन्छ । वादी गाउँका जान्ने , सुन्ने मानिने स्नातक तह उत्तीर्ण हायु महिला समाजकी अध्यक्ष कुमारी लोपोन्मुख जाति हायुहरूको संरक्षण हुने कुरामा भने आसावादी हुनुहुन्छ । लोपोन्मुख जाति भएकाले आय आर्जनसँग हायुहरूलाई जोडेर आफूहरूको संरक्षण गर्नु सरकारको पनि कर्तव्य भएको स्थानीय जमुना हायु बताउनु हुन्छ । यसमा सबैले विशेष ध्यान दिने छन् भन्ने गाउँलेको आशा रहेको छ । ”
हायुहरूको संरक्षणका लागी उनीहरूको स्वास्थ्य, शिक्षा तथा रोजगारीमा विशेष ध्यान दिएर स्थानीय सरकारले कार्यक्रम सञ्चालन गरेको रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपाने बताउनु हुन्छ । लोपोन्मुख जाति भएकाले पनि स्थानीय सरकारको प्राथमिकतामा हायु जाति पर्ने गरेको उहाँले बताउनु भयो । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ र ८ मा हायुहरूको बाक्लो बस्ती रहेको छ । सरकारले नै लोपोन्मुख भनेर उनीहरूको लागि जन्मने बित्तिकै मासिक ४ हजार भत्ता उपलब्ध गराउँदै आएकाले पनि हायु समुदायको संरक्षणमा सरकार संवेदनशील भएको नगर प्रमुख न्यौपानेको दाबी छ ।
सरकारले सबै हायुहरूलाई मासिक भत्ता दिन थालेपछि उनीहरूको अवस्थामा सुधार आएको भए पनि केही वर्ष अगाडि देखी गाउँमा पुगेका लघुवित्त कम्पनीहरूका कारण आफूहरू निकै तनाव भएको स्थानीय अम्बिका हायु बताउनु हुन्छ । उहाँले सरकारबाट आय आर्जनका कार्यक्रमहरू सञ्चालन गरेर हायुहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सके लोपोन्मुख जातिको संरक्षणमा टेवा पुग्ने बताउनु भयो । आफ्नै प्रकारको संस्कार र संस्कृति भएको यो जातिका युवाहरूले पनि अहिले गाउँ छाड्न थालेका छन् । गाउँमा बृद्ध बृद्धा मात्र बस्ने भएकाले पनि आर्थिक गतिविधिहरू सञ्चालन नहुँदा हायुको आर्थिक अवस्थामा सुधार हुन नसकेको उहाँहरूको भनाइ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्