श्री नं २६ वाहिनी अड्डा भकुन्डेमा १४औँ सैन्य आधार तालिमको दीक्षान्त समारोह

 काभ्रे — श्री नं. २६ वाहिनी अड्डा, भकुन्डेमा सञ्चालित १४औँ सैन्य आधार तालिमको दीक्षान्त समारोह शुक्रवार एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ।

समारोहको प्रमुख आतिथ्य बाहिनी पती सहायक रथी निर्जल बहादुर अधिकारीले गर्नु भएको थियो। प्रमुख अतिथि सहायक रथी अधिकारीले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने ९५ जना सैन्यहरूलाई बधाई तथा शुभकामना दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले तालिम टोलीद्वारा प्रस्तुत गरिएको आकर्षक कवाजको निरीक्षण समेत गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै सहायक रथी अधिकारीले नेपाली सेनाको गौरवमय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहासलाई स्मरण गर्दै भन्नुभयो, “राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो र सेनाको मेरुदण्ड भनेको तालिम प्राप्त सिपाही।” उहाँले राष्ट्र र जनताको सेवामा समर्पित भई सेनाको मूल्य, मान्यता तथा अनुशासनलाई आत्मसाथ गर्दै उच्च मनोबलका साथ कर्तव्य पालन गर्न सिपाहीहरूलाई आग्रह गर्नुभयो।

दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सिपाहीहरूलाई पुरस्कृत समेत गरिएको थियो।

नौ महिने अवधिको आधारभूत तालिम पूरा गरेका यी सिपाहीहरू अब नयाँ नियुक्ति लिएर विभिन्न युनिटहरूमा खटिने श्री नं. २६ वाहिनी अड्डा भकुन्डेले जनाएको छ।

कार्यक्रममा वाहिनी अन्तर्गतका अधिकृतहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, दीक्षित सिपाहीहरूको परिवारजन तथा आफन्तहरूको उल्लेखनीय सहभागिता रहेको श्री नं २६ वाहिनी अड्डाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.