सशस्त्र नदीजन्य कृत्रिम घटना अभ्यास

काभ्रे – काभ्रेको भुम्लु गाउँपालिका वडा नं ८ स्थित दोलाल घाटमा सशस्त्र प्रहरी बल नेपाल, नं १५ गण हेक्का काभ्रे र सशस्त्र प्रहरी बल नेपाल, नं १६ गण हेक्का सिन्धुपाल्चोकको आयोजनामा नदीजन्य कृत्रिम घटना अभ्यास बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले बागमती प्रदेश अहिले बजेट निर्माणको कार्यमा रहेको र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् प्रतिकार्य तालिम, गोताखोर तालिम, विपद् संस्कृतिको विकास, जोखिम न्यूनीकरण, रणनीति निर्माण, राहतमा लगानी, विपद्मा प्रयोग हुने सुरक्षा उपकरणहरूको खरिद एवं सुरक्षा निकायहरूलाई हस्तान्तरण गर्ने कार्यलाई विगतमा झैँ यस वर्ष पनि लागिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेल,नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा,जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । नदीजन्य कृत्रिम अभ्यास कार्यक्रममा स्थानीय स्रोत साधनको प्रयोग गरी विविध उद्धार विधिहरू प्रदर्शन गरिएको थियो । यस्तै उद्धारकर्मीहरूले र्यापलिङ्ग प्रविधि, रबर बोट प्रयोग, हाई लाइन रेस्क्यु, बोट रेस्क्यु, डिप डाइभिङ्ग, गोताखोरबाट खोजी कार्य, बाढी प्रभावित क्षेत्रमा उद्धार गर्ने अभ्यास देखाएका थिए । कार्यक्रममा विपद् उद्धार कार्यमा प्रयोग गरिने सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्