२१ सय किलो गाँजासहित इटहरीबाट तीन जना पक्राउ

सुनसरी – इटहरीबाट प्रहरीले ठुलो मात्रामा लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले मङ्गलवार राति करिब १ः३० बजे धरानबाट इटहरीतर्फ आइरहेको ना.५ ख.६११६ नम्बरको सेतो मिनी ट्रकलाई इटहरी उपमहानगरपालिका–२०, तरहराको जङ्गल नजिक कोसी लोक मार्गमा रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रकमा लोड गरिएका ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुको बिचमा लुकाइएका ७० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। कुल गाँजाको तौल २१ सय किलोग्राम रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लम्मी भण्डारीले जानकारी दिनु भएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई, र घटनास्थलमा शङ्कास्पद रूपमा उपस्थित सुनसरी वराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई रहेका छन् ।
बरामद गाँजा, ट्रक र पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्