‘गोरखा संग्रहालय अवलोकन गर्नेको सङ्ख्या बढ्दो

गोरखा – गोरखा सदरमुकाममा रहेको ‘गोरखा संग्रहालयमा विगत ११ महिनामा अवलोकन गर्नेको सङ्ख्या १ लाख १७ हजार नाघेको छ ।
गएको ०८१ साल साउन महिना देखी ०८२ साल जेठ महिनासम्म कुल १ लाख १७ हजार ४६५ जनाले संग्रहालयको अवलोकन गरेको संग्रहालय प्रमुख जय नारायण कार्कीले जानकारी दिनुभयो ।
प्रमुख कार्कीका अनुसार गत बर्षको सोही अवधिभन्दा अहिले ३ हजार १२१ जना बढी अवलोकन कर्ताले संग्रहालय अवलोकन गरेको बताउनुभयो ।
यो अवधिमा नेपाली विद्यार्थी ३५ हजार ७८१ जना र सर्व साधारण नेपाली ७९ हजार ५६४ जना गरी १ लाख १५ हजार ३४५ जनाले संग्रहालयको अवलोकन गरेका छन् ।
त्यस्तै गरी, १ हजार ९६१ जना विदेशी र १५९जना सार्क देशका गरी कुल १ लाख १७ हजार ४६५ जनाले अवलोकन गरेको संग्रहालय प्रशासनले जनाएको छ ।
गत वर्षको सोही अवधिमा भने स्वदेशी तथा विदेशी गरी कुल १ लाख १४ हजार ३४४ जनाले संग्रहालयको अवलोकन गरेका थिए ।
संग्रहालयले यो ११ महिनाको अवधिमा २६ लाख ७६ हजार ११० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको पनि संग्रहालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।
तत्कालीन राजा राजेन्द्र विक्रम शाहको पालामा विक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरबार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरबारमा विक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रूपमा संग्रहालयको रूपमा खुल्ला गरिएको हो । संग्रहालय परिसर वरपर करिब ३०० प्रजातिका बोट बिरुवाहरू देख्न पाइन्छ ।






प्रतिक्रिया राख्नुहोस्