प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ-  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उहाँले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत छलफल भएको बताउनुभयो । सरोकार भएका पक्षसँग छलफल गरी विधेयकलाई समितिका तर्फबाट अन्तिम रुप दिइएको सभापति खतिवडाले जानकारी दिनुभयो ।

आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको बताउँदै उहाँले आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुननहुने धारणा राख्नुभयो ।

निजामती विधेयकसम्बन्धी समितिका तर्फबाट प्रतिनिभिसभामा प्रतिवेदन पेस गरिसकिएको उल्लेख गर्दै सभापति खतिवडाले आजको कार्यसूचीमा नपरे पनि शीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । पत्र पढेर सुनाउँदै उहाँले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी खाद्य सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन थाइल्याण्ड जानुभएकाले मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्हाल्नेगरी तोकिएको जानकारी मुख्यसचिवमार्फत आएको उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.