विद्यालय नहुँदा हायु बालबालिका शिक्षाबाट वञ्चित

सिन्धुली- नेपालकै लोपोन्मुख मध्येको हायु समुदायमा विद्यालय नहुँदा आधारभूत तहभन्दा माथि शैक्षिक योग्यता हासिल गर्न गुराँसेका हायु समुदायलाई समस्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका १ गुराँसेमा करिब ३२ परिवार हायु बस्ती छ । हायु सँगै अन्य समुदायका जनजातिहरूको पनि बसोबास छ । तर सो स्थानमा प्राथमिक तहको एक विद्यालय छ । उक्त गाउँबाट माध्यमिक तहको अध्ययन गर्नका लागि झन्डै तीन घण्टाको बाटो हिँडेपछि मात्रै माध्यमिक विद्यालय पुगिने हुँदा पढाई छोड्ने बालबालिकाहरू धेरै हायु बस्तीमा छन् । जीर्ण भवन, कक्षाकोठाको अभाव, पुराना मोडलका काठका डेस्क बेन्च भएको विद्यालयमा झन्डै पचास जना विद्यार्थी अध्ययन गर्छन् ।जसमध्ये ८५ प्रतिशत बढी हायु समुदायको बालबालिका उक्त विद्यालयमा अध्ययनरत छन् ।
उज्यालो प्राथमिक विद्यालय हायूगाँउ नामक विद्यालयमा एक कोठामा दुई ओटा कक्षा पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । सदरमुकामकै नजिक रहेको हायु बस्ती भए पनि सडकको दयनीय अवस्थाका कारण निकै दुर्गम बस्तीको रूपमा हायु बस्ती छ । यहाँ जनचेतनाको अभाव छ जसका कारण शौचालय समेत सबै परिवारमा नभएको अवस्थामा कमलामाई नगरपालिकाको समन्वयमा विभिन्न गैर सरकारी सङ्घसंस्थाहरूले शौचालय बनाउन र सफा स्वच्छ गाउँ बनाउन जनचेतना दिएपछि शौचालय बनाएका छन् । विद्यालय भवन थप गरी गाउँमै कक्षा ८ सम्म विद्यालय सञ्चालन गर्न सके लोपोन्मुख हायु समुदायका बालबालिकालाई शिक्षा दिन सहज हुने विद्यालयका प्रधानाध्यापक मनीषा बजगाईँ बताउनु हुन्छ ।
दुई जना दरबन्दी एक राहत र एक बाल शिक्षक र एक कार्यालय सहयोगी सहित पाँच जना कर्मचारी सो विद्यालयमा कार्यरत छन् । विद्यालयमा कार्यरत कर्मचारी सबै महिला कर्मचारी रहेका छन् । एक औपचारिक कार्यक्रममा पुग्नुभएका नगरप्रमुखसँग स्थानीयले विद्यालयको तह वृद्धि गरिदिन माग गरेका छन् । कमलामाई नगरपालिकाका प्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले तह वृद्धि गर्न आर्थिक भार रहे पनि हायु समुदायको शिक्षालाई लक्षित गरी सो विद्यालयमा तह वृद्धि गरिदिन पहल गर्ने बचन दिनुभयो ।
सदरमुकामकै नजिकै रहेर पनि ओझेलमा परेको हायु समुदायमा बालबालिका प्रशस्तै छन् । आर्थिक रूपमा केही सबल भएका र शिक्षित परिवारले बालबालिकालाई पढाउन सहर पठाउने गरेका छन् । उमेर नपुगी विवाह गर्ने र बालबालिका जन्माउने प्रचलन हायु समुदायमा अझै छ ।






प्रतिक्रिया राख्नुहोस्