रोशी गाउँपालिकामा विपद् व्यवस्थापन विषयक अन्तर्क्रिया

काभ्रेपलान्चोक — रोशी गाउँपालिकाको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिबिच अन्तर्क्रिया कार्यक्रम सोमबार रोशी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश कुमार ढकालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले अघिल्लो वर्षको विपद् अवधिमा खोज, उद्धार तथा राहत वितरणको क्रममा अपेक्षाकृत सहयोग प्राप्त भएको जानकारी दिनुभयो। तर त्यसपछिका राहत वितरण कार्यहरूमा केही कमजोरी देखिएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारसँग आवश्यक स्रोत-साधनको अभाव रहेको बताउनुभयो। प्रमुख अतिथि प्रजिअ उमेश कुमार ढकालले विपद् व्यवस्थापनमा समयमै राहत तथा उद्धार कसरी गर्ने भन्ने तयारी महत्त्वपूर्ण हुने बताउनुभयो। साथै, सुरक्षा निकायहरूसँग सहकार्य गरी समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो। “यस क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै जानुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा वडाध्यक्षहरूले विपद् व्यवस्थापनका लागि हालसम्म भएका तयारी, समुदायमा रहेका चेतनाको अवस्था, पूर्व सूचना प्रणालीको अवस्था, उद्धार तथा राहत सामग्रीको उपलब्धता लगायतका विषयमा धारणा राखेका थिए। अधिकांश वडाध्यक्षहरूले विपद् पूर्व तयारीमा स्रोतको अभाव, आवश्यक उपकरणको कमी तथा जनशक्तिको सीमितता प्रमुख चुनौतीका रूपमा उल्लेख गरे। कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, स्थानीय कर्मचारी तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
Enter






प्रतिक्रिया राख्नुहोस्