इच्छा कामनामा सपना भिलेजद्वारा कफी नर्सरी परियोजना किसान सशक्तीकरण र दिगो कृषि अभ्यासमा जोड

चितवन – चितवनको इच्छा कामना गाउँपालिका–१ मा सपना भिलेजले सञ्चालन गरेको कफी नर्सरी परियोजना स्थानीय कृषकहरूका लागि आशाको केन्द्र बनेको छ। दुई वर्षअघि सुरु गरिएको यस परियोजनाले उच्च गुणस्तरीय कफी उत्पादनको सम्भावना मात्र होइन, दिगो कृषि अभ्यास र ग्रामीण सशक्तीकरणमा पनि उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

समुन्द्र सतहदेखि १,६५० मिटर उचाइमा अवस्थित नर्सरीको भौगोलिक बनावट कफी खेतीका लागि उपयुक्त मानिन्छ। कफी प्रायः ८५० मिटरभन्दा माथिको उचाइमा राम्रोसँग फल्ने भएकाले यहाँको वातावरणले उत्कृष्ट उत्पादनको आधार तयार गरेको छ।

सपना भिलेजले नर्सरी स्थापनापछि आवश्यक तयारी पूरा गरी कफी खेतीमा रुचि राख्ने स्थानीय किसानहरूलाई कफीका बिरुवा नि सुल्क  वितरण गरेको थियो। यो कदमले किसानहरूमा नयाँ आशा जगाएको छ।

गत वर्षमा संस्थाले कफी खेती, प्रशोधन प्रक्रिया र वातावरणमैत्री कृषि प्रणालीसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गरेको थियो।

यस्ता तालिमहरूले किसानहरूको व्यावसायिक ज्ञान, सीप र आत्मविश्वासमा उल्लेखनीय वृद्धि गरेको छ। साथै, पोखराका प्रख्यात कफी फार्महरूमा अवलोकन भ्रमण गराइएपछि किसानहरूले व्यावहारिक अनुभव पनि लिन सकेका छन्।

 

परियोजनाको मुख्य उद्देश्य भनेको वातावरण संरक्षणसँगै स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा कफीको बढ्दो मागलाई सदुपयोग गर्दै कृषकहरूको आम्दानी वृद्धि गर्नु हो। सपना भिलेजले किसानहरूबाट कफी उत्पादन सुरु भएपछि न्यायसङ्गत मूल्यमा खरिद गर्ने प्रतिबद्धता जनाएको छ, जसले भरपर्दो बजार सुनिश्चित गर्ने विश्वास गरिएको छ।

सपना भिलेज संस्थाका अध्यक्ष ध्रुव गिरीलेका अनुसार, “यो कार्यक्रमले स्थानीय समुदायलाई सशक्त बनाउनेछ, वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्नेछ र इच्छा कामना क्षेत्रमा नयाँ आर्थिक अवसरहरू सिर्जना गर्नेछ।”

यस परियोजनाले ग्रामीण क्षेत्रको समुन्नत भविष्य निर्माणतर्फ एक ठोस पाइला चालेको प्रस्ट देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.