राजश्वमा ४० प्रतिशत बिद्युतीय सवारी साधनको योगदान

रसुवा- चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि हालसम्मको राजश्व असुलीमा ४० प्रतिशत हिस्सा सवारी साधनको करबाट प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलशी प्रसाद भट्टराईका अनुसार कुल राजश्वको चालीस प्रतिशत राजश्व बिद्युतीय चिनियाँ सवारी साधनबाट असुली भएको बताउनुभयो ।
उहाँका अनुसार चालू आर्थिक बर्षको यस अवधिमा २९ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी राजश्व असुली भएको छ भने गत वर्षको सोही अवधिमा २० अर्ब २१ करोड रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो ।
चालु आर्थिक बर्षमा विद्युतीय सवारी साधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको छ भने तीन अर्ब बराबरका सामग्री निर्यात भएका छन । चालू आर्थिक बर्षमा बिद्युतीय गाडी साना ठूला गरी छ हजार पाँच सय भन्दा बढी सवाारी साधन आयात भएको छ ।
पूर्वाधारको कमि, जीर्ण सडक, नेपालको चाडपर्वको बेला ल्याइने सामान काठमाण्डौं पुर्याउन राजमार्गमा हुने बाढी पहिरोको समस्याले निर्धारित समयमा चल्ने मालबाहक ट्रक गन्तव्यमा पुग्न चुनौती भएपनि बिद्युतीय चिनियाँ सवारी साधनबाट राजश्व भने असुली भएको हो ।
नेपाली बजारका लागी चिनबाट जुता, चप्पल, बच्चाको खेलौना, थरमस, मेशिनरी, पार्टपुर्जा, सेनीटरी एवम् इलेक्ट्रीक सामान, रोलकपडा, स्याउ, प्याज, लसुन, ओखर, भाँडाकुँडा, फर्निचर, जिम्बु, शिरक, कम्बल, सुईटर र ज्याकेट लगाएत आयात हुने गरेको छ ।
नेपालबाट चीनतर्फ निर्यात हुने सामानमा बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरिया, तामाका भाडाकुडा, गलैंचा समेत रसुवागढी नाकाबाट जाने गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्