पृथ्वी राजमार्गको ठाउँ ठाउँमा फोहरको डङ्गुर
वैज्ञानिक तवरले फोहर व्यवस्थापन गर्न नसक्दा समस्या

धादिङ – पृथ्वी राजमार्गको ठाउँ ठाउँमा फोहरको डङ्गुर थुप्रन सुरु भएको छ । आ–आफ्नो क्षेत्रमा स्वच्छ र सफा राख्ने स्थानीय तहहरूले राजमार्ग क्षेत्रमा पर्ने स्थानीय बजार क्षेत्रबाट निस्किएको फोहर व्यवस्थापन वैज्ञानिक तवरले गर्न नसक्दा सडकको दायाँ बायाँ जथाभाबी फोहरहरु देखिएको हो । दैनिक हजारौँ सवारीमा लाखौँ यात्रुहरू आवत जावत गर्ने पृथ्वी राजमार्गका विभिन्न स्थानहरूमा थुपारिएका फोहरको डङ्गुरले पृथ्वी राजमार्ग हुँदै आवत जावत गर्ने लाखौँ यात्रुहरुलाई गिज्याइ रहेको भान हुन्छ ।
राजधानी काठमाण्डौवाट बाहिरिने मुख्य मार्ग पृथ्वी राजमार्गका ठाउँ ठाउँमा यस्तो फोहर थुप्रन थालेपछि त्यसको छाप राजमार्ग भएर यात्रा गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नकारात्मक पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
सरकारले घोषण गरेको पर्यटन दशक सुरु भई सकेको छ । बाह्य पर्यटकहरू पनि नेपालका विभिन्न पर्यटकीय क्षेत्र घुम्नका लागी स्थल मार्गको प्रयोग गरी आउने बिस्तारै लहर बढ्दै जना थालेको छ । तर सडकको अवस्था र सडक छेउ छाउमा थुपारिएका फोहरको डङ्गुरले भने उनीहरूमा नेपाल प्रतिको सोचाई नै नबदल्ला भन्न सकिन्न ।
नगाढुङ्गाबाट अगाडि बढ्दा त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका दर्जनौँ स्थानहरू यस्तै फोहरको थुप्रोले भरिएका छन् । भने निर्माणाधीन अवस्थामा रहेको राजमार्गको अवस्थाले त उनीहरूको यात्रा नै पट्यार लाग्दो बनेको छ । फोहर व्यवस्थापनमा ध्यानदिनुको साटो स्थानीय तहले पालीकाबाट निस्कने फोहर लाई राजमार्गका छेउछाउमा थुपार्न लागेपछि समस्या छनै विकराल लेखिएको हो। फोहरका कारण राजमार्गका छेउ–छाउमा दुर्गन्ध बढ्दै गएको छ । विषेस गरी गजुरी, बेनी घाट रोराङ्गले गाउँपालिकाले राजमार्गलाई डम्पिङ साइट जस्तै बनाएका छन् ।
गजुरी र बेनी घाट रोराङ्ग गाउँपालिकाले फोहरको उचित व्यवस्थापन नगरी सिधै राजमार्ग र त्रिशूली नदीमा फाल्ने गरेको पाइएको छ । फोहर व्यवस्थापन गर्ने स्थानको विकल्प अन्य नभएकोले यस्तो अवस्था आएको गजुरीका स्थानीयको भनाई छ ।
धादिङ र चितवनका केही स्थानीय तहहरूले राजमार्ग स्वच्छ अभियान भन्दै कार्यक्रमहरू गर्दै आएका छन् । तर त्यस्ता कार्यक्रमको कुनै प्रभाव भने फोहर व्यवस्थापन र सरसफाईको क्षेत्रमा पर्न सकेको छैन । यी फोहरका थुप्राले एकातिर वातावरणलाई प्रदूषित गरेको छ भने अर्को तर्फ नदी प्रदूषित हुँदा त्यसको असर पर्यटनमा समेत पर्ने निश्चित छ ।






प्रतिक्रिया राख्नुहोस्