प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै
बाढीले बाटो अवरुद्ध छ म क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु : सांसद आचार्य

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ ।
सोमवार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लाग्नुभएको हो ।
बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताउनु भयो । रसुवामा ठूलो विपद् आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ ।’
बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।
बाढीले ठूलो क्षति पु-याएको छ, हामी प्रभावित क्षेत्रतर्फ जाँदैछौँः सांसद आचार्य
सो क्षेत्रको अहिलेको अवस्थाका बारेमा रसुवाका सङ्घीय सांसद मोहन आचार्यले बाढीबाट सडक क्षति भएकाले त्यस ठाउँमा पुग्न कठिन भएको बताउनु भयो ।
घटनाका बारेमा विस्तृत विवरण आउनै बाँकी रहेको उहाँले बताउनु भयो ।बाढीमा परी हराइरहेका नागरिकका सम्बन्धमा पूर्ण विवरण लिने काम भइरहेको छ । उक्त बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति गराएको छ । नेपाल–चीन सीमामा रहेको मितेरी पुल नै बगाएपछि बाढीको भयावह अवस्था चित्रण हुन्छ । सीमानाकामा रहेको भन्सार यार्डमा बाढी पसेको छ । भन्सार यार्डमा रहेका कतिपय कन्टेनर बाढीले बगाएको छ । रसुवाको सांसदको जिम्मेवारीमा रहेको हुँदा म अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछु । स्याफ्रूबेँसीबाट रसुवागढी पुग्न अझै तीन÷चार घण्टा लाग्छ । त्यसतर्फको बाटो अवरुद्ध छ म क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु उहाँले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्