आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको आकर्षण

रामेछाप- आयुर्वेदिक उपचारप्रति रामेछापका सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । यस प्रकारको उपचार बिधिबाट स्वास्थ्यमा राम्रो प्रभाव पर्न थालेपछि सर्वसाधारणमा यसको आकर्षण बढेको हो ।
आयुर्वेद उपचारप्रति आकर्षण बढेसँगै रामेछाप जिल्लामा यस बर्ष ३० हजार भन्दा बढिले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत स्वास्थ्य सेवा लिएका छन् ।
जिल्ला सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट जिल्लाका ३० हजार ७ सय ६४ जनाले स्वास्थ्यसँग सम्बन्धित बिभिन्न सेवा लिएको चिकित्सालयले जनाएको छ ।
पछिल्लो समय आयुर्वेद प्रति सर्वसाधारणको आकर्षण बढ्न थालेपछि स्वास्थ्य सेवा लिनेको संख्यामा समेत बृद्धि हुन थालेको हो । अहिले रामेछाप जिल्लाका विभिन्न ४ स्थानबाट आयुर्वेद सम्बन्धि स्वास्थ्य सेवाहरु उपलब्ध हुँदै आएको छ ।
आयुर्वेदप्रति जिल्लाका सर्वसाधारणहरुको आकर्षण बढेपछि चिकित्सालयले सेवा बिस्तारको काम अगाडि बढाएको चिकित्सालयका अध्यक्ष नवराज पथिकले बताउनु भयो । उहाँले आयुर्वेद अस्पताल संचालनका लागि बागमती प्रदेशमा रामेछाप तेश्रो जिल्ला भएको बताउँदै अस्पताल संचालन भएपछि जिल्लाबासीले उच्च स्तरको गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नु भयो ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रामेछापले आफ्नो कार्यालयमार्फत अहिले २३ प्रकारका निःशुल्क औषधि बितरण गर्नुका साथै हरेक हप्ताको सोमबार निः शुल्क स्वास्थ्य परिक्षण गर्दै आएको चिकित्सालयका प्रमुख दिपक कार्कीले बताउनु भयो ।
चिकित्सालयले गाउँ गाउँसम्म सेवा बिस्तारका लागि काम गरेको बताउँदै कार्कीले हरेक रोगको शुरुवात खानाबाट हुने भएकाले अहिले आफ्नो भान्सालाई व्यवस्थित बनाउन जरुरी भएको बताउनु भयो ।
जडिबुटिबाट बनेको औषधि प्रयोगले शरिरका अन्य अंगमा असर नगर्ने भएकाले एलोपेथिक औषधिको तुलनामा ग्रामिण बासिन्दाहरु आयुर्वेदिक औषधितर्फ आकर्षित भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका प्रमुख दिपक कार्कीको भनाइ छ ।
दुर्गम गाउँका बासिन्दाहरु जडिबुटिको उपचारमा विश्वास गर्दै अन्य औषधि सेवन गर्न मन नपराउने हुनाले पनि यसको महत्व झन् बढ्दै गएको उपचारका लागि आएका बिरामीहरु बताउँछन् ।






प्रतिक्रिया राख्नुहोस्