विकटका विद्यार्थीलाई विकसित मुलका विद्यार्थीको सहयोग

चितवन- अमेरिकामा हुर्किएका १७ वर्षिय साभर थापा शाहीले भौगोलिक विकटतासंगै आर्थिक अवस्थाले अभाव झेलेका बालबालिकालाई सहयोग गरे । चितवनका विकट भेगका दुई सय ७५ विद्यार्थीको लागि पोषाक , शैक्षिक र स्वास्थ्य सामग्री सहित करिब पाँच लाख भन्दा बढीको सहयोग जुटाए ।
गरिबिका कारण पठनपाठनमा अभाव भोगेका विद्यार्थीको अवस्था देखेर अमेरिकाको टेक्सासमा बस्ने साभर र उनका साथीले जोगाएको खाजा खर्चले विकटका विद्यार्थीले झोला , कापी कलम , पोषाक , जुत्ता र स्वास्थ्य सामाग्री पाए । ‘ पढ्नको लागि झोला , लुगा पायौ । अब ढुक्कले पढ्ने हो , ’ डिहिटारमा चार कक्षामा पढ्ने सरोज प्रजाले भने ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ मा रहेको आधारभुत विद्यालय रातामाटे , डुम्रे ,कमलपुर र राप्ती नगरपालिका १२ को डिहिटारका विद्यार्थीलाई सहयोग गरे । त्यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर २५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका दुई सय ७५ विद्यार्थीलाई सहयोग गरेका हुन् । ‘ म विकसित ठाँउमा हुर्किए , तर म जस्तै धेरै अभाव भोगेका छन् । उनीहरुलाई हामीले आफ्नो खाजा खर्च जोगाएर सहयोग जुटाएका हौं , ’ साभरले भने , ‘ विकसित र विकटका विद्यार्थीको समन्वय गराउन खोजेका छौं । अब निरन्तर लाग्ने छौं । ’
नेपालमा आउने क्रममा उनले गरिब र विकटका विद्यार्थी वारे थाहा पाएका थिए । उनका ठुलो बुवा डा. अजय न्यौपाने र ठुली आमा डा. सरु थापाले गरेको सामाजिक कामले उनी प्रभावित भएर अमेरिकामा रहेका साथीहरुलाई नेपालसंग जोड्न लागेका हुन् । डा. दम्पतीले फाउण्डेसन स्थापना गरेर विकटमा सहयोग गर्दै आएका छन् ।
यही देखेर साभरले सामाजिक काममा अघि बढेका हुन् । भविष्यमा बालबालिकाको सहकार्य र सहयोग गराउने योजना रहेको फाउण्डेसनका अध्यक्ष डा. अजय न्यौपानेले बताए । ‘ हामीले सामाजिक काम गरेको देखेर साभरले अमेरिकाका विद्यार्थीलाई नेपालका विद्यार्थीसंग जोड्न लागेका हुन् , ’डा. न्यौपानेले भने , ‘ यो सुरुवात मात्रै हो । यो विकसित र विकटको सम्बन्ध बनाउने अभियान हो । ’
चितवनको पहाडी भेगमा खासगरी आर्थिक अभावले पहाडमा विद्यार्थी टिकाउन गारो छ । आधाभुत विद्यालय रातामाटेका शिक्षक बलराम जोशीले भोको पेटमा विद्यालय आउने पहाडी भेगका बालबालिकालाई सधैं शैक्षिक सामाग्री सहयोगले उर्जा थपेको बताए ।
फोटो पनि छ ।






प्रतिक्रिया राख्नुहोस्