रास्वपा बैठकः जनताका मुद्दा स्थापित गराउन सफल भएको निष्कर्ष

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा संसदीय दलको बैठक बसेर विभिन्न निर्णय गरेको छ । संसदमा भिजिट भिषा प्रकरण र त्योसँग सम्बन्धित बेतिथि विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
भ्रष्टचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट गर्ने निर्णय समेत भएको परियारले बताउनुभयो । यसका आयाम र रुपहरु परिवर्तन हुन सक्छन्, जुन नेपाली जनताको मुद्दा हो, सदन र सबैतिर उठाउने निर्णय भएको उहाँले बताउनुभयो ।
संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।
उहाँले संसद्मा नेपाली जनताको मुद्दा स्थापित गराउन पार्टी सफल रहेको बैठकको ठम्याइ रहेको बताउनुभयो । उहाँका अनुसार रास्वपा निजामति विधेयक, भ्रष्टाचारका मुद्दा, मालपोत प्रकरण लगायतका विषय अझै आन्दोलमै रहेको छ ।
रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा अहिले केन्द्रिय नेता तथा सांसदहरू भैरहवामा गएर अभियानमा सहभागी हुन आएको परियारले बताउनुभयो । उहाँले भैरहवा विमानस्थल सञ्चालनदेखि लुम्बिनीका पर्यटन व्यवसायीको मुद्दाप्रति रास्वपा गम्भीर रहेको र यसबारे संसद्मा कुरा उठाउने आश्वासन दिनुभयो ।
भैरहवामा भएको बैठकमा भने आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको विषयमा भने कुनै छलफल नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले उम्मेदवारीको लागि आह्वान गरेका छौँ, यो पार्टीको विषय भएकाले रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा संसदीय दलको बैठकमा छलफल भएन ।”
उहाँले अबको आन्दोलनलाई अझ फराकिलो दायरामा गर्ने बताउँदै भ्रष्टाचारको विरोध सडक र सदनबाट गर्ने जिकिर गर्नुभयो । उहाँले तत्कालकै लागि पार्टीको संसदीय दलको नेता परिवर्तन नगर्ने सङ्केत पनि गर्नुभयो । सभापति रवि लामिछाने दोषी ठहर नभएकाले बैठकमा यस विषयमा कुनै छलफल नभएको उहाँको भनाइ थियो ।





प्रतिक्रिया राख्नुहोस्