चितवनको बटुली पोखरीमा यस वर्ष ४८४ वटा चराको गुँड गणना

चितवन, भरतपुर– बाटुली सामुदायिक वनमा रहेको बाटुली पोखरीमा यस वर्ष कुल ४८४ वटा चराको गुँड गणना गरिएको छ। नेपाल पक्षीविद् सङ्घ (NOU) को प्राविधिक सहयोगमा मेघौली घडगाई नेचर गाइड एसोसिएसनले असार १६ गते (३१ जुलाई २०२५) आयोजना गरेको गुँड गणनामा ३० जना प्रकृति प्रेमी र नेचर गाइड सहभागी थिए।

बटुली पोखरी समुद्र सतहबाट ३१३ मिटर उचाइमा बारन्डाभार कॉरिडोर, चितवन राष्ट्रिय निकुञ्ज बफर जोनमा पर्ने रमणीय क्षेत्र हो। सालबृक्ष (Shorea robusta) ले घेरिएको यो पोखरी दुर्लभ प्रजातिका चरा प्रजननका लागि महत्त्वपूर्ण स्थान मानिन्छ। यहाँ विशेष गरी ठुला र मरेका सालका रूखहरूमा एसियन ओपन बिल (Asian Openbill) र ओरिएन्टल डार्टर (Oriental Darter) ले हरेक वर्ष गुँड बनाउने गर्छन्।

यस वर्ष गणनामा ४८४ वटा गुँड भेटिएका छन्, जसमा ४७८ गुँड एसियन ओपनबिलले, २ गुँड ओरिएन्टल डार्टरले ओगटेका छन् भने ४ गुँड खाली थिए। यसमध्ये एकै वटा सालको रूखमा १८ वटा गुँड भेटिनु सबैभन्दा धेरै हो। सबैभन्दा तल्लो गुँड पानी सतहभन्दा २.५ मिटर माथि र सबैभन्दा माथिल्लो गुँड ३० मिटर उचाइमा रहेको पाइएको छ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष गुँडको सङ्ख्या १७ प्रतिशतले बढेको छ। गत वर्ष ४१३ गुँड भेटिएका थिए। यस वर्ष पोखरीमा डुङ्गा चलाउने र पिकनिक गर्ने गतिविधिलाई चितवन राष्ट्रिय निकुञ्जले रोकिएको थियो यस कारण चरा प्रजननमा सकारात्मक प्रभाव परेको बताइएको छ।

गुँड गणनामा चितवन राष्ट्रिय निकुञ्जका रेन्जर छत्र खड्का, वरिष्ठ गेम स्काउट रङ्ग बहादुर बस्नेत, गेम स्काउट ताशी लामा लगायतको उल्लेखनीय सहयोग गरेका थिए।

नेपाल पक्षीविद् सङ्घका अध्यक्ष हठन चौधरीले चरा प्रजनन संरक्षणमा निकुञ्ज प्रशासन, बफर जोन समिति र स्थानीय समुदायको भूमिकाको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि गुँड गणना निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.