सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा उत्तरी क्षेत्रमा नेपाल–चीन सीमा स्तम्भको निरीक्षण

सङ्खुवासभा – सशस्त्र प्रहरी बल नेपाल किमा थाङ्का बि ओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमा थाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको किमा थाङ्का बि ओपी र र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोट खोला गाउँपालिका –१ किमा थाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका सीमा स्तम्भहरूको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट बि ओपी किमा थाङ्का र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोट खोला गाउँपालिका –१ अन्तर्गत रहेका ५ वटा सीमा स्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका डिएसपी बाबुराम पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट बि ओपी किमा थाङ्काका इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ७ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका डिएसपी दावा छिरिङको कमान्डमा ८ जना र नेपाल प्रहरीका ४ जनाको संयुक्त टोलीले विभिन्न सीमा स्तम्भको निरीक्षण गरेको छ । संयुक्त सुरक्षा टोलीले किमा थाङ्का नाकामा रहेका ६६, ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरको सीमा स्तम्भ (जङ्गे पिलर) र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका डिएसपी पौडेलले बताउनुभयो । टोलीले सीमा स्तम्भको निरीक्षण सँगै सरसफाइ समेत गरेको छ । सङ्खुवासभामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमा थाङ्कामा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा स्तम्भ निक्कै पुरानो भएको बताइएको छ । गत जेठ आएको बाढीले ७१÷१ को सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमा थाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट बि ओपी स्थापना भएको हो ।
भोट खोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सीमा स्तम्भ हालसम्म फेला परेको छैन । भोट खोला गाउँपालिका वडा नं १, २ र ३ छिमेकी चीनको भूभाग सँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमा थाङ्का नाका द्वन्द्व लगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदवारिमा सारिएको थियो । खाँदारीदेखि किमा थाङ्का एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्