अलास्कामा अमेरिका–रुस वार्तापछि जेलेन्स्कीले वासिङ्टनमा ट्रम्पलाई भेट्ने

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको ‘ऐतिहासिक’ वार्ताको दुई दिनपछि सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट गर्ने घोषणा गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले आफू र राष्ट्रपति ट्रम्पबीच डेढ घण्टा लामो र अर्थपूर्ण वार्ता भएको बताउनुभयो । प्रारम्भमा दुई नेताबीच मात्र कुरा भएको भए पनि पछि युरोपेली नेताहरूलाई समेत छलफलमा सामेल गरिएको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि वासिङ्टनको भूमिकालाई निर्णायक हुने उल्लेख गर्दै भन्नुभयो “युक्रेन शान्ति ल्याउन अधिकतम प्रयास गर्न तयार छ । राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेट र छलफलका मुख्य बुँदाबारे मलाई जानकारी गराउनुभयो । अमेरिकाको सहभागिता स्थिति परिवर्तनमा महत्त्वपूर्ण हुनेछ ।”
ट्रम्पले प्रस्ताव गर्नुभएको युक्रेन–अमेरिका–रुस त्रिपक्षीय बैठकलाई स्वागत गर्दै उहाँले यस्तो ढाँचा शान्तिका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

“सोमबार म वासिङ्टनमा राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेट्नेछु । हत्या र युद्ध अन्त्यका सम्भावनाबारे विस्तृत छलफल गर्नेछौँ । निमन्त्रणाका लागि म आभारी छु”, जेलेन्स्कीले लेख्नुभयो ।
युरोपेली संलग्नता र भरपर्दो सुरक्षा ग्यारेन्टी आवश्यक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “युक्रेनले समाधानका लागि आफ्नो प्रयासमा कुनै कसर बाँकी राख्नेछैन । हामीले सबै साझेदारहरूसँग निरन्तर समन्वय गरिरहेका छौँ ।“

यसअघि, ट्रम्पले सोमबार वासिङ्टनमा जेलेन्स्कीसँग भेट हुने र परिस्थिति अनुकूल भएमा पुटिनसँगको बैठक पनि सम्भव हुने बताउनुभएको थियो । उहाँले लेख्नुभएको छ, “यो भेटवार्ताले लाखौँ मानिसको जीवन बचाउन सक्छ ।”

यसबाहेक, गत शुक्रबार अमेरिका र रुसबीच युक्रेन युद्धविरामबारे अलास्कामा बहुप्रतीक्षित वार्ता भएको थियो । रुसका वरिष्ठ अधिकारी किरिल दिमित्रिभले अमेरिकाले दिएको ‘उत्कृष्ट स्वागत’ को प्रशंसा गर्दै, कठिनाइबीच पनि दुवै देशबीच सम्बन्ध निर्माण जारी रहने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.