मातृभाषाको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व: मुख्यमन्त्री बानियाँ

मकवानपुर –  ३१ औं ‘तामाङ प्रसारण दिवस’को अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख आतिथ्यतामा आइतबार साँझ कायृक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले धर्म वा जातका आधारमा राजनीति गर्न नहुने धारणा राख्नुभयो । लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ र नेवार भाषालाई प्रदेशसरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएर अग्राधिकार प्रदान गरेको उल्लेख गनुृभयो । भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री बानियाँले तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई व्यक्तिगत रूपमा दुई लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो । मुख्यमन्त्री बानियाँले अध्यक्ष ज्ञानेन्द्र तामाङलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा तामाङ भाषाको पत्रिका तामाङ डजाङ मासिकका प्रकाशक पत्रकार अर्जुन बहादुर घलान र पत्रकार भुवन घलानलाई नगदसहित सम्मान गरिएको थियो । दिवसकै अवसरमा “सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य लो तामाङ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो ।

वक्ताहरुले ‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८०’ प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह जिम्मेवार बन्नुपर्ने धारणा राखे । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य लो तामाङले मातृभाषा केवल औपचारिक प्रयोगमा सीमित नभई दैनिकीमा लागू गर्नुपर्नेमा जोड दिँदै समुदायभित्रै तामाङ भाषा बोल्ने वक्ता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले स्थानीय सरकारहरू भौतिक विकासमा मात्र केन्द्रित हुँदा भाषा ऐन कार्यान्वयनमा कमी आएको स्वीकार गर्दै आगामी दिनमा प्रदेश तथा स्थानीय तहबीच समन्वयमा काम गर्न तयार रहेको बताउनुभयो । वरिष्ठ पत्रकार प्रताप विष्टले ऐन कार्यान्वयनमा तामाङ घेदुङ संघले पर्याप्त पहल नगरेको टिप्पणी गर्दै भाषा बलियो भए मात्र राष्ट्र बलियो हुने धारणा राख्नुभयो ।
त्यस्तै, मन्त्रालयका सचिव सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम भइरहेको दाबी गर्दै नियमावली तयार भइसकेको जानकारी दिनुभयो । उहाँले नेपाल तामाङ घेदुङ र नेवादयः दबूको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.