समाजिक सुरक्षा कोषमा ६ लाखभन्दा बढी श्रमिक आवद्ध

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताउनु भएको छ ।

भदौ ६ गते प्रतिनिधिसभा बैठकमा सांसद पूर्णबहादुर घर्तीद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले कोषलाई सबै श्रमिकसम्म पुर्‍याउन सरकार गम्भीर रहेको बताउनु भयो । उहाँका अनुसार हालसम्म २१ हजार ३९२ औपचारिक रोजगारदाता दर्ता भइसकेका छन् भने ६ लाख १३ हजार ७१८ जना श्रमिक कोषमा सहभागी भएका छन्। साथै ७७६ जना अनौपचारिक क्षेत्रका श्रमिक र ४७६ जना स्वरोजगार व्यक्तिहरूलाई पनि कोषमा समेटिएको छ।

मन्त्री भण्डारीका अनुसार वैदेशिक रोजगारीमा जाने १८ लाख ३५ हजारभन्दा बढी श्रमिक दर्ता भइसकेका छन्। “वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने स्किम ल्याउने देश नेपाल मात्रै हो,” उहाँले भन्नुभयो।

उनले अनौपचारिक क्षेत्रमा समेत श्रम निरीक्षणको व्यवस्था गर्न नेपाल सरकारले ILO Convention ८१ र ८७ अनुमोदन गर्ने प्रक्रियामा रहेको जानकारी समेत उहाँले दिनुभयो । “यो अभियान हाम्रो आफ्नै भविष्यका लागि हो, वृद्धावस्थामा कसैसँग हात थाप्न नपर्ने गरी आफ्नै पेन्सनबाट जीवन धान्न सकिन्छ,” उनले सांसदहरूलाई कोषको विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो।

प्रदेश र स्थानीय तहसँग श्रम समन्वयको विषयमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले संविधानको मर्मअनुसार संघीय संरचनामा श्रम–रोजगार सेवा एकीकृत गर्ने गृहकार्य भइरहेको स्पष्ट पार्दै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयलाई रुपान्तरण गरी प्रादेशिक श्रम तथा रोजगार कार्यालय बनाउने प्रक्रिया अघि बढाइएको  जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.