लमजुङमा बजार अनुगमन शुरुभए लगत्तै पसलहरू बन्द
अधिकांश पसल दर्ता विनै सञ्चालन

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङले राई नास नगरपालिका अन्तर्गतका पसलहरूमा अनुगमन सुरु गरेको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पसल अनुगमन सुरु गरे लगत्तै राई नास वडा नम्बर ४ र ५ वरपरका पसलहरू बन्द गरी व्यवसायीहरू लुकेको पाइएको छ ।
सहायक प्रजिअ थमनसिँह गौतमले बजार अनुगमन सुरु गरेसँगै एक अर्का व्यवसायीबिच सम्पर्क गरेर पसलहरू बन्द गरेको बताउनुभयो । अनुगमन टोलीले व्यवसायीहरूलाई जानकारी नदिई छड्के पसल अनुगमन सुरु गरेको थियो । तर सुरुमा एक दुई वटा पसल अनुगमन गर्दै गर्दा अन्य पसलहरू बन्द भइसकेको सहायक प्रजिअ गौतमको भनाई छ ।
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले बजार अनुगमन सुरु गरेको हो । विशेष गरी चाडपर्वका बेला हुनसक्ने सम्भावित कालोबजारी, खाद्य गुणस्तर र मूल्यवृद्धि नियन्त्रणका लागि प्रशासनले बजार अनुगमन सुरु गरेको हो ।
प्रशासन कार्यालय र अन्य सहयोगी निकायको समन्वयमा जिल्लाको राईनासबाट अनुगमन सुरु भएको हो । राई नास नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत पर्ने १० वटा पसलमा अनुगमन गर्दा अधिकांश पसल दर्ता विनै सञ्चालनमा रहेको सहायक प्रजिअ गौतमले बताउनुभयो ।
अनुगमनको क्रममा अधिक कमजोरी देखिएको एउटा किराना पसललाई पाँच हजार रुपैयाँ जरिवाना लिइएको अन्य पसलहरूलाई चेतावनी सहित प्रक्रियामा लाग्न निर्देशन दिइएको सहायक प्रजिअ गौतमको भनाई छ ।
अनुगमन सुरु भएसँगै कतिपय व्यवसायीहरूले पसल बन्द गरेर भागेको समेत भेटिएको अनुगमन टोलीले बताएको छ । अनुगमनका क्रममा पसलहरूमा म्याद गुज्रेको सामान भने न्यून मात्रामा भेटिएको थियो । अनुगमन टोलीले पसलमा मुल्यसूची टाँस गर्नुका साथै सामान बिक्री गर्दा अनिवार्य रूपमा उपभोक्तालाई बिल उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा प्रहरी चौकी तीनपिप्ले प्रमुख एवं प्रहरी निरीक्षक राजाराम खतिवडा, राई नास नगरपालिकाको प्रतिनिधि, प्रशासन कार्यालयका कर्मचारी एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । राई नास सँगै जिल्लाका अन्य क्षेत्रमा पनि पसल अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्