नेपाली विशेषताको समाजवाद, बहुलता र विविधताको समायोजन आवश्यक-ओली

एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्नुभएको छ । उहाँले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको दोस्रो महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन वाचन गर्दै समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।”

प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर व्याख्या गरिएको छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई भनिएको छ ।

अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा उल्लेख छ, “नेपाली विशेषताको समाजवादको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात् गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरू बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।”

प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग भनेर उल्लेख गरिएको छ । जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु एक लाख पचास हजारभन्दा कम, मध्यम वर्गमा वार्षिक आय करिब रु रु एक लाख पचासदेखि पाँच लाख, उच्च वर्गमा वार्षिक आय रु पाँच लाखभन्दा माथि भएकालाई आधार मानिएको छ ।

जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सीमान्त किसान र न्यून आय वर्गका बढी देखाइएको छ । सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ । जसअनुसार औसत गरिबी दर २० दशमलव तीन प्रतिशत दलितमा र त्यो मुस्लिममा ३० प्रतिशतभन्दा बढी रहेको छ । यसैगरी, मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनका साथै अन्य चार आयोगका प्रतिवेदन पनि पेस गरिने छ । यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतको प्रतिवेदनसमेत आजै प्रस्तुत हुनेछ । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.