बिमाको सिस्टम नचल्दा सेवाग्राही समस्यामा

 पाल्पा –  पाल्पा जिल्लाका सरकारी अस्पतालमा स्वास्थ्य बिमाबाट सञ्चालित सिस्टम नचल्दा सेवा लिन पुगेका बिरामी समस्यामा परेका छन् ।

जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा अस्पताल, रिब्दीकोट स्थित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, रम्भा गाउँपालिकाको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र र रामपुर अस्पतालमा स्वास्थ्य बिमाको कम्प्युटर सिस्टम निकै सुस्त गतिमा चल्दा सेवाग्राही समस्यामा परेका हुन ।

बिमा सम्बन्धी अभिलेख कम्प्युटरमा दाखिला गर्ने काम सामान्यतया एक देखि दुई मिनेटमा सकिनुपर्नेमा सिस्टम धिमा गतिमा चल्दा एक जना सेवाग्राहीको काम गर्न १५ देखि २० मिनेट लाग्ने गरेको पाल्पा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र पौडेलले बताउनुभयो ।

सिस्टम अपग्रेडको लागि स्वास्थ्य बिमा बोर्डमा आग्रह गरिएको तर समस्या समाधान अहिले सम्म नभएको सेवा प्रदायक निकायको भनाइ छ । नजिकिँदो चाडपर्वको समयमा सेवा लिन पुगेका सेवाग्राही घण्टौँ टन्टलापुरे घाममा सेवा लिन बाध्य भएका छन् । बिरामी भएर सेवा लिन पुगेका सेवाग्राही घण्टौँ उभिएर सेवा लिनुपर्दा अझ बढी मारमा परेको सेवाग्राहीको गुनासो छ ।

केही दिन अघि मात्रै सरकारी सेवा प्रवाहमा समस्या वा ढिलाइ भए उजुरी गर्न गृह मन्त्रालयले सूचना जारी गरेको भए पनि समस्याको हल हुन अहिलेसम्म सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.