जिल्ला अस्पताल त्रिशूलीमा जोखिम नियन्त्रणका लागि सचेतना कार्यक्रम

नुवाकोट- नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका स्वास्थ्यकर्मीहरूलाई जोखिम नियन्त्रण र सावधानी सम्वन्धि सचेतना प्रदान गरिएको छ । यसबाट अस्पतालमा उपचार सेवाको सहजता हुने लक्ष्य रहको छ ।
विदुर नगरपालिका ९ वाघटार कोलोनीस्थित त्रिशूली अस्पतालमा आगलागी नियन्त्रण गर्ने तरिका र सावधानीका सम्बन्धमा स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रशिक्षण दिइएको हो । फायर एक्स्टिङ्गुइशर सिमुलेसन कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा अस्पतालका सुरक्षाकर्मीदेखि कर्मचारीसम्मलाई आगलागी नियन्त्रण गर्ने तरिका र सावधानीबारे आवश्यक सचेतनामूलक तालिम प्रदान गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । नुवाकोट, रसुवा र धादिङको् उत्तरी भेगका बिरामीहरूको उपचार हुँदै आएको त्रिशूली अस्पतालमा आकस्मिक र बहिरङ्ग गरी दैनिक रूपमा चार सय बढी बिरामीहरूको उपचार हुँदै आइरहेको छ ।
६१ वर्षदेखि सेवा पु¥याउंदै आएको त्रिशूली अस्पताल नुवाकोटमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई फायर एक्स्टिङ्गुइशर सिमुलेसनका विशेष प्राविधिकहरूले तालिम प्रदान गरेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । डा. लामाले यस प्रकारका तालिमले आकस्मिक जोखिमपूर्ण अवस्थामा सजग रहन, उचित कदम चाल्न र क्षति न्यूनीकरणमा मद्दत पुग्ने बताउनुभयो ।
आगलागी निभाउने र सावधानी अस्पतालको सम्पूर्ण विभागीय प्रमुख र कर्मचारीहरूबिच अन्तर्क्रियाका साथै प्रयोगात्मक अभ्याससमेत गरिएको थियो । कार्यक्रममा अस्पतालका सहभागीहरूलाई आगलागी नियन्त्रण गर्ने विधिका साथै अस्पतालको प्रभावकारी सेवा सहजताका विषयमा जानकारी गराइएको थियो ।






प्रतिक्रिया राख्नुहोस्