रोशी खोलाले राजमार्ग कटानगर्दा विपी राजमार्ग पूर्ण रुपमा ठप्प

काभ्रे – शनिबारदेखि परेको वर्षाको कारण विपी राजमार्गको विभिन्न स्थानमा रोशी खोलाले सडकको डाइर्भसन बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल अनुसार राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालावेशी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थाई रुपमा बनाइएको डाइर्भसन शनिबारको निरन्तर वर्षाले पुनः क्षति गराएसँगै राजमार्ग पूर्ण रुपले ठप्प भएको हो ।
गत वर्ष पूर्ण रुपमा क्षति बनाएको राजमार्ग करिब १० करोडको लगानी गरेर अस्थाई मर्मत गरेर सञ्चालनमा ल्याइएको राजमार्ग पुनः क्षति भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनु भयो । उहाँका अनुसार, राजमार्गको विभिन्न स्थानमा डाइर्भसन रोशी खोलाले बगाएको छ । यसको मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउनको लागि करिब १० दिन लाग्ने बताइएको छ ।
उहाँका अनुसार, विपी राजमार्गको करिब ९ किलोमिटरमा पूर्ण रुपमा क्षति पुर्याएको छ । यसको बैकल्पिक मार्गको रुपमा सिन्धुलीको सित्खा हुदैं तेमाल–भकुण्डे सडक खण्ड हुदैं काठमाडौं प्रवेश गर्न सकिने उहाँले बताउनु भयो । अहिले उक्त सडक खण्डमा पनि सडक अवरुद्ध भएको र दुई चार दिनमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताइएको छ ।
अरनिको राजमार्ग अन्र्तगत ५४ किलो र खावा सडक खण्ड लेदो सहितको पहिरोले अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छ्याएर राजमार्गमा यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनु भएको छ । उहाँका अनुसार, काभ्रे र भक्तपुर जिल्लाको सिमा क्षेत्र रहेको साँगामा पनि पहिरो पन्छ्याएर यातायात सुचारु गरिएको छ । हाल विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको र अरनिको राजमार्गमा भने कुनै अवरुद्ध नरहेको उनले जानकारी दिए ।






प्रतिक्रिया राख्नुहोस्