गुल्मीमा प्रशासन कार्यालयमै मतदाता नामावली संकलन

 गुल्मी –  गुल्मी जिल्लामा मतदाता नामावली संकलनको कार्य जिल्ला प्रशासन कार्यालय गुल्मीमै भइरहेको छ ।

अन्य जिल्लामा निर्वाचन कार्यालयमार्फत मात्रै नामावली संकलन हुँदै आए पनि गुल्मीमा भने विशेष व्यवस्था अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा समेत उक्त कार्य सञ्चालन भइरहेको छ ।

निर्वाचन आयोगले मतदाता विवरण अद्यावधिक तथा नयाँ मतदाता थप गर्ने उद्देश्यले देशभर अभियान सञ्चालन गरिरहेको छ । तर अधिकांश जिल्लामा यो कार्य केवल जिल्ला निर्वाचन कार्यालय वा त्यसका तोकिएका केन्द्रहरूमा सीमित छ ।

गुल्मीमा भने सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत समेत मतदाता नामावली संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार नागरिकता प्रमाणपत्र लिने, अद्यावधिक गराउने वा अन्य प्रशासनिक कामका लागि कार्यालयमा आउने नागरिकहरूलाई सोही अवसरमा मतदाता नामावलीमा नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गराउन सहज बनाउने उद्देश्यले यो सेवा प्रदान गरिएको हो ।

दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीका सेवाग्रहीको चाप अत्यधिक छ । अन्य समयमा सदरदरको तुलनामा तेब्बरले सेवाग्रहीको भीड लाग्ने गरेको छ ।

प्रशासन कार्यालयमै यो सेवा पाउन थालेपछि समयको बचत भएको अनुभव सेवाग्रहीले बताएका छन् । निर्वाचन आयोग तथा जिल्ला प्रशासन कार्यालयबीचको समन्वयले यो कार्यलाई थप प्रभावकारी बनाएको छ ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै असोज १० गतेबाट मतदाता नामावली अद्यावधिक कार्य गर्दै आएको छ । पछिल्लो समयमा सुरु भएको नामावली संकलन कार्यमा ३१४ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसले बताउनुभयो ।

योग्य उमेर पुगेका नागरिकहरूलाई तोकिएको समयभित्र आफ्नो नाम दर्ता गराउन वा विवरण अद्यावधिक गर्न आग्रह जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.