मैथिल समुदाय हर्षोल्लासपूर्वक मनाउने छठ पर्वको तयारी सुरु

जनकपुरधाम – मैथिल समुदाय हर्षोल्लासपूर्वक मनाउने छठ पर्वको तयारी सुरु भएको छ । अन्न कुट तथा गोधन पर्व र भातृद्वितिया पर्व सम्पन्न भए लगत्तै मैथिल समुदाय पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी सुरु गरेका हुन् ।
छठ पर्व कालागि अहिले जनकपुरधामका पोखरीहरूलाई सरसफाइ तथा सजावटको कार्य सुरु भएको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।
आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई नवदुलही झैँ सजाइँदै छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्छन् । जनकपुरधामका साथै तराई मधेसका गाउँ गाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सर सफाइका साथै सजाउने कार्य भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्