पौने दुई सय विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री

नुवाकोट- बिद्यार्थीहरुलाई पठनपाठनमा उत्साहित गराउने उद्देश्यले नुवाकोटको बट्टारस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलासहितको स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरूलाई एक÷एक सेट शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो ।
नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको युनाइटेड आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई किताब, कापीका साथै शैक्षिक सामग्री बोक्ने एक÷एक थान झोलासहित स्टेशनरी सामग्रीहरू प्रदान गरिएको हो । कक्षा आठसम्म अध्ययन अध्यापन भइरहेको उक्त विद्यालयमा अध्ययनरत सावै एक सय ६७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतले विद्यार्थीहरूलाई झोलासहितको शैक्षिक सामग्री हस्तान्तरण गरे । संगम चोकमा रहेको गोसाईंकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई एक–एक थान झोला, कापी र सिसा कलम उपलब्ध गराएको हो ।
झोलासहितको स्टेशनरी सामग्री कार्यक्रममा विदुर नपा ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित, व्यवस्थापक हरिवंश ढकाल, नेपाल लाइफ इन्स्योरेन्स वट्टारकी प्रमुख अम्बिका श्रेष्ठ, विद्यालयका अध्यक्ष देवनारायण चित्रकारलगायतले हस्तान्तरण गर्नुभयो । विद्यार्थीहरूले झोलासहितको स्टेशनरी सामग्री पाएसँगै अध्ययनप्रति निकै उत्साहित भएका छन् ।
कार्यक्रममा विद्यालयका तर्फबाट पूर्व शिक्षकहरू सूर्यमान डङ्गोल र रामबाबु डङ्गोललाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्रद्वारा सम्मानित गरिएको छ । विद्यालयको उक्त कार्यक्रममा विभिन्न गीत, सङ्गीत तथा नृत्यसमेत गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्