गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बडादसैँ अन्तर्गत फूलपातीका दिन आज बिहान ८ः ३२ बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरुले विधिपूर्वक पुजाअर्चना गरेर हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखाकाली मन्दिरका पुजारी हरि सारु मगरले जानकारी दिनुभयो ।
बा २ झ २१२८नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरुले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् ।
गोरखा दरबारको दसैँघरदेखि बाजागाजासहितको र्‍याली निकालेर फूलपातीको विदाइ गरिएको उहाँले बताउनुभयो । ‘‘गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्‍याएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ,’’ पुजारी मगरले बताउनुभयो ।
तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक बर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरेको पाइन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरीको टोलीले सलामी दिएर गोरखा दरवारबाट फूलपाती पठाइएको हो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाइ गरेर हनुमान ढोका दरबार पठाएका हुन् ।
गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याइन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.