आज व्रतालुहरु ‘खरना’ विधिको तयारीमा, बजारमा किनमेल गर्नेहरुको घुइँचो

काठमाडौँ- तराई-मधेशमा विशेष रुपमा मनाइने पर्व छठको दोस्रो दिन आज व्रतालुहरु ‘खरना’ विधिको तयारीमा छन् ।
आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।
पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ ।
पर्वमा अर्घ दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्त्वका साथ लिने गरिएको छ ।
यसैबीच, छठ पर्वमा प्रयोग गरिने विभिन्न परिकार र तथा सामाग्रीहरुको किनमेल गर्न मुख्य बजारहरुमा दिनभर आज घुइँचो लागेको थियो।।






प्रतिक्रिया राख्नुहोस्