सिन्धुलीको जुनार बगैँचा निरीक्षण गर्न पुगे कृषि मन्त्री परियार

 सिन्धुली-  कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदनप्रसाद परियाले सिन्धुलीको जुनार बगैँचा निरीक्षण गर्नुभएको छ ।

जुनार किसानको समस्या बुझ्न कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर परियार सिन्धुलीको जुनार किसानको बगैँचामै पुग्नुभएको हो । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ तिन कन्यामा कृषि मन्त्री परियार पुग्दा स्थानीय किसान खुसी भएका छन् ।

जुनारको मुख्य सिजन हुँदै गर्दा जुनारमा किराको समस्या भएको गुनासो आएपछि कृषि मन्त्री स्थलगत निरीक्षणमै पुग्नुभएको हो ।

जुनार बगैँचा निरीक्षण गर्दै मन्त्री परियारले तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई र हालको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जुनार क्षेत्रमा गरेका काम र प्रभावकारिता सम्बन्धी स्थलगत निरीक्षण गर्नुभएको हो ।

परियोजनाले दश वर्ष काम गरेको र त्यसबाट किसानको जीवनस्तरमा आएको परिवर्तनका सम्बन्धमा जानकारी लिन आफू किसानकै बगैँचामा पुगेको मन्त्री परियारको भनाई थियो । केही साता अगाडी जुनारको फल कुहिने समस्या भएको किसानहरूले गुनासो राखेको सञ्चारमाध्यमबाट आफूले जानकारी पाएको र त्यसको अवस्था बुझ्न समेत जुनार बगैँचामा पुगेको परियारको भनाई छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले सिन्धुलीको जुनार क्षेत्रमा सुपर जोनको बनाई दश वर्षदेखि काम गर्दै आएको छ । सोही कार्यक्रमले किसानमा के कस्तो फाइदा पुगेको छ र सो कार्यक्रम थप गर्न कत्तिको आवश्यकता छ बुझ्न म सिन्धुलीको जुनार बगैँचामा आएको हुँ मन्त्री परियारले भन्नुभयो ।

मौलिक फल जुनारले सिन्धुलीका किसानहरूको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । ढुसीजस्तो देखिने रोगले जुनारको बाटामै कुहिने समस्या भएको गुनासो किसानबाट आएपछि कृषि मन्त्री स्वयम् जुनार बगैँचामा निरीक्षण गर्न पुग्दा स्थानीय किसान खुसी हुँदै हुँदा मन्त्रीसामु आफ्ना गुनासा सुनाए ।

मन्त्रीसामु किसानले जुनार क्षेत्रमा रोडको समस्या भएको र रोगको समस्या भएको गुनासो सुनाए । जुनार कृषक लोकबहादुर आले मगरले जुनार क्षेत्रमा पुग्ने सडक अत्यन्तै जोखिमपूर्ण र कष्टकर भएको गुनासो गर्नुभयो । यस्तै बेला बेला जुनारमा लाग्ने रोगले आफूहरूलाई चिन्तित बनाएको मन्त्रीलाई जानकारी गराउनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तला खेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् ।

परियोजनाको प्रभावकारिता र किसानहरूको समस्या बुझ्न आफू स्थलगत रूपमा जुनार बगैँचामा पुगेको कृषि मन्त्री परियारको भनाई छ । जुनार उत्पादनका लागि सिन्धुलीको गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र हो । यस क्षेत्रबाट बर्सेनि करोडको जुनार कारोबार हुने गरेको छ । जुनारको मुख्य क्षेत्रमै समस्या देखा परेपछि तत्कालै आफूहरू फिल्डमा गएर त्यसको समाधान खोजिएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख यामकुमार श्रेष्ठको भनाई छ ।

जुनार बढाउने, बचाउने, लगायतका कार्यक्रम जुनार क्षेत्रमा गर्दै आएको कार्यालयले जनाएको छ ।

कृषि मन्त्रीका साथमा मन्त्रालयका कर्मचारी, फलफूल लाग्ने किरा रोगका विशेषज्ञ वरिष्ठ कृषि विकास अधिकृत डाक्टर देवराज अधिकारी, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी लगायत कर्मचारीहरू तथा स्थानीयहरू सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.