गुल्मीमा चाडपर्वको समयमा ५९ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

गुल्मी – गुल्मी जिल्लामा चाडपर्वको समयमा ५९ वटा सवारीसाधनहरू दुर्घटनामा परेका छन् । गत असोज ६ गते दसैँ सुरु भएदेखि कात्तिक ९ गते तिहारसम्मको अवधिमा ४९ स्थानमा ५९ वटा साना–ठुला सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले बताउनुभयो ।
ती दुर्घटनामा १ जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यस वर्षको चाडपर्वको अवधिमा ट्रक, बस, टिपर, कार, एम्बुलेन्स, मोटरसाइकल, ई भी, स्कुटर, अटो र जिप गरी विभिन्न सवारी साधन दुर्घटनामा परेका हुन् । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाका परेका छन् ।
चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी साधन चलाउने गर्नाले अरू समयमा भन्दा सवारी दुर्घटना बढ्ने गर्दछ । तर जिल्लामा भने चाडपर्वको समयमा ठुला दुर्घटना कम भएका छन् ।
ट्राफिक प्रहरीको सक्रियता र जनचेतना मूलक कार्यले दुर्घटना न्यूनीकरणमा केही हदसम्म कम भएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न प्रहरी विभिन्न स्थानमा चेकजाँचलाई बढाएको थियो ।
सवारी साधनमा यात्रुको चाप हुन नदिन प्रहरीले सक्रियता बढाएको थियो । दुर्घटना लगायत अन्य सहजीकरणको लागि प्रहरीले जिल्ला भर २ दर्जन बढी स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको थियो ।
प्रहरीले सवारी चालकहरूलाई गति नियन्त्रण र ट्राफिक नियमको पालना गर्न आग्रह समेत गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्