हिँमपातले याकचौँरी पालनमा ठुलो असर, किसानको जीविकामा सङ्कट

मनाङ – नेपालका उच्च हिमाली जिल्लाहरूमा परेको लगातार हिँमपातले याक र चौँरी पालनमा गम्भीर असर पारेको छ। मनाङ, मुस्ताङ, डोल्पा र मुगुका खर्कहरू सेतो हिउँले ढाकिएपछि चौँरीहरूले घाँस र दाना पाउन नसकेका कारण अनेक समस्या देखिएका छन्।


स्थानीय किसानहरूका अनुसार यस वर्ष असामयिक रूपमा हिउँ परेको छ। अकस्मात् परेको बाक्लो हिउँका कारण चौँरी चराउने ठाउँ पूरै हिउँले ढाकिएको छ। घाँस र पानी नपाउँदा चौँरीहरू कमजोर बन्दै मर्ने क्रम समेत सुरु भएको किसानहरूको गुनासो छ।

मनाङका किसान तेन्जिङ लामाले भन्नुभयो, “यो पाल हिउँ छिट्टै पर्यो, चौँरीहरूलाई घाँस पनि छैन, दाना ल्याउन बाटो नै बन्द छ।”
यसरी निरन्तर हिँमपात हुँदा किसानहरूको मुख्य आम्दानी स्रोत जोखिममा परेको छ।

याकचौँरी पालन हिमाली जीवनको पहिचान मात्र होइन, आयआर्जनको प्रमुख माध्यम पनि हो। तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिउँ पात र सुख्खा समय अनियमित हुँदै गएको छ। यसले पशुपालनमा गम्भीर असर पारिरहेको विज्ञहरूको भनाइ छ।
पशु सेवा विभागका एक विज्ञका अनुसार, “हिउँ पातपछि चौँरीको स्वास्थ्य र पोषणका लागि तत्काल राहत र दाना सहयोग आवश्यक छ, ढिलाइ भए ठुलो क्षति हुन सक्छ।”

सरकारले भने प्रभावित किसानहरूलाई सहयोग गर्न तयारी भइरहेको जनाएको छ। तर हिमाली किसानहरूका अनुसार राहत पुग्न समय लाग्ने र तत्कालीन सङ्कट समाधान गर्न कठिन भइरहेको छ।
याकचौँरी पालनमा परेको यो सङ्कटले हिमाली क्षेत्रको आर्थिक र सांस्कृतिक दुवै जीवन प्रभावित बनेको छ।
हिउँ पातले चौँरी मात्र होइन, सम्पूर्ण हिमाली जीवनशैलीमै सङ्कट ल्याएको किसानहरूको गुनासो छ।






प्रतिक्रिया राख्नुहोस्