अकबरे खोर्सानीको मूल्य नपाउँदा किसान चिन्तित

धनकुटा- परम्परागत खेती जङ्गली जनावरबाट जोगाउनै मुस्किल भएपछि अकबरे खुर्सानी खेती थालेका धनकुटाका किसान निराश भएका छन् । अघिल्ला वर्षहरूमा राम्रो मूल्य पाएर आम्दानी भएपछि खेतीमा विस्तार गरेका किसान निराश भएका हुन् । गएका वर्ष मूल्य राम्रो भएपछि खेतीमा लाग्ने किसानको सङ्ख्या पनि बढेको छ । तर, यो वर्ष राम्रो मूल्य नपाउँदा किसानलाई लगानी उठाउन समेत कठिन हुने भएको छथर जोरपाटी गाउँपालिका ४ तेलियाका प्रदीप ओझाले बताउनु भएको छ । गत वर्ष ३ सयदेखि ४ सय रुपैयाँसम्ममा अकबरे बेचेका किसान यो वर्ष १ सय देखि १ सय ५० रुपैयाँसम्म बिक्री गर्न बाध्य भएको ओझाको भनाइ छ । उहाँले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएको तर, निकै कम मूल्यमा बेच्नु परेको बताउनु भयो । बढी उत्पादन भएपछि बजार मूल्य घटेको हो कि भन्ने अनुमान उहाँको रहेको छ । अझ अकबरे खोर्सानी कै नाममा विभिन्न प्रजाति बजारमा आएकाले वास्तविक अकबरेले बजार मूल्य नपाएकाले कृषक मारमा परेको ओझाले बताउनु भयो ।
बाँदर, दुम्सी, बँदेल लगायतका जङ्गली जनावरको आक्रमणले अरू खेती जोगाउनै मुस्किल भएपछि वैकल्पिक खेतीका रूपमा अकबरे खुर्सानी खेतीतर्फ लागेका किसान घट्दो बजार मूल्यले चिन्तित बनेका हुन् । अकबरे खोर्सानीमा खेती गर्ने किसान बढेपछि उत्पादन वृद्धि हुँदै जाँदा उचित मूल्य नपाउँदा किसानलाई लागत उठाउनै मुस्किल परेको हो । गएका वर्षहरूमा अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्ने गरेका थिए । अहिले उत्पादन भए पनि मूल्य नभएको किसानले गुनासो गर्दै आएका छन् । पछिल्लो समय अकबरे खेती विस्तार र बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षे नि कृषि उत्पादनको बजार मूल्यमा समस्या सिर्जना हुँदै गएको किसान बताउँछन् । अकबरे खोर्सानीको बजार जेठ देखी सुरु हुन्छ । गएका वर्षमा उत्पादन पनि राम्रो र बजार भाउ पनि राम्रो थियो तर यस वर्ष भने उत्पादन भए पनि उचित मूल्य नपाएको कृषकको भनाई रहेको छ ।
अकबरेको खोर्सानीले बजार मूल्य नपाउँदा मारमा परेको पाख्री बास नगरपालिका–७, का किसान भूपाल थापाले बताउनु भयो । मूल्य नपाएकाले खेती नै सङ्कटमा पर्ने हो कि चिन्ता थपिएको उहाँको भनाइ छ । थापाले करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लगाएको र हाल प्रति केजी १ यस ५० रुपियाँले बिक्री गरेको बताउनु भयो । गएको वर्ष भन्दा यस वर्ष बजार मूल्य नपाउँदा धेरै मारमा परेको थापाले बताउनु भयो । अकबरे खोर्सानी एक पटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । जङ्गली जनावरबाट कम क्षति हुने तथा थोरै मेहनत र थोरै लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन् ।
किसानले खेती विस्तार गरेपछि स्थानीय सरकार र प्रदेश सरकारले प्रशोधन र भण्डारणका लागि कुनै सहयोग नगरेको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा करिब ८० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती गर्दै आएका छन् । धनकुटामा आर्थिक वर्ष २०८०÷०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९ सय ७३ दशमलव १५ मेट्रिक टन उत्पादन भएकोमा गत आर्थिक वर्षमा ८ सय मेट्रिक टन अकबरे खोर्सानी उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरले जानकारी दिनुभयो ।
अकबरे खोर्सानीको बजारका लागि स्थानीय तथा प्रदेश सरकारले अचार उद्योग बनाउन सहयोग गर्नुपर्ने किसानको माग छ । यस्तै उत्पादनमा उतारचढाव हुँदा मूल्यमा पनि उतारचढाव हुने हुँदा स्थानीय सरकार तथा प्रदेश सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने किसानको माग छ । अकबरे खोर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा सरकारले प्राविधिक परामर्श, बिउ बिजन उपलब्ध र किसानले राम्रो मूल्य पाउने व्यवस्था हुन सकेको छैन ।






प्रतिक्रिया राख्नुहोस्