निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण: प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको हो।

उहाँले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताउनुभयो। निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाइँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न। तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं र गर्नैपर्छ। चिन्ता नगर्नुहोस्। आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस्। अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ।’

दलीय पद्धतिमा दललाई बाहिर राखेर अघि बढ्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो।

‘दलीय पद्धतिमा दल त हुन्छन् नै। दल नभई हुँदैन। माथि दलका कुरा हुन्छन्। तल स्थानीय तहमा विकासका कुरा हुन्छन्। यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन। हामीले नै सुधार गर्दै लैजानुपर्छ। ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो। यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ। मुलुक हाम्रै हो। हामीले नै सुधारेर जानुपर्छ।’

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘जेनजी छोराछोरी पनि हाम्रै हुन्। पुरानाले बढी ओगटिदिए। मनोमानी गरे। त्यसले विद्रोह जन्मियो। अब दलसँग रिसाएर हुँदैन। तपाईँहरु पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु। आफ्नाआफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।’

राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उहाँको धारणा थियो।

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो।

आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उहाँहरुको धारणा थियो।

स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गर्नुभयो।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो।

गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गर्नुभयो।

स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो।

स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनुभयो।

उहाँहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.