मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम सिफारिस , भण्डारी पदमुक्त
दानबहादुर कार्की नयाँ प्रहरी महानिरीक्षक
काठमाडौँ- सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्ने उहाँले जानकारी दिनुभयो ।
बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ भने मधेश प्रदेशका प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो ।
मधेश प्रदेशमा भएका राजनीतिक घटनालाई मध्यनजर राख्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ जना र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय भएको छ ।
कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति दिइएको प्रवक्ता खरेलले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्ले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ भने २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्