महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिनुभएको हो । एमालेको नेतृत्वले गत भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन सम्पन्न भएकाले अबको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि मात्रै भएको जनाउँदै आएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूले समसामयिक विषयमा मन्तव्य दिएपछि महाधिवेशन नेतृत्व चयनमा लाग्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

“जेनजी आन्दोलनपछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा छैनन् । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,” वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिको भूमिका रहनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.