बंगलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने अदालतको फैसला

बंगलादेशमा कडा सुरक्षा सतर्कता

बङ्गलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्रीहसिनालाई सन् २०२४ को जुलाईको आन्दोलनमा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको बिबीसीले जनाएको छ।
७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा रहनुभएको छ । उहाँको अनुपस्थितिमै मुद्दा चलाइएको थियो ।
अदालतलाई उद्धृत गर्दै अल जजिराले भन्यो, “अभियुक्त शेख हसिनाले आफ्ना उक्साहटपूर्ण आदेशहरू मार्फत मानवता विरुद्ध अपराध गर्नुभयो र आरोप नं १ अन्तर्गत रोकथाम तथा दण्डात्मक कदम लिन असफल हुनुभयो ।” विशेष न्यायाधिकरणले थप जनाएको छ, “आरोप नं २ अन्तर्गत उहाँले ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिनुभएको थियो, जसले मानवता विरुद्ध अपराधलाई आकार दियो ।”
बंगलादेशको सो आन्दोलनमा प्रहरीको गोली लागेर १४०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
आजको फैसला अघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । केही पीडितका परिवारहरू त्यसै दिन अदालतमा उपस्थित भएर कडा सजायको माग गरेका थिए ।
दोस्रो दिनदेखि हसिनाको पार्टी अवामी लिगले देशव्यापी ‘पूर्ण बन्द’ को घोषणा गरेको छ । ढाकासहित केही क्षेत्रमा छिटपुट विस्फोट र गाडी जलाइएका घटनाहरू रिपोर्ट भएका छन् ।
यता, प्रतिरक्षा वकिल मोहम्मद अमिर हुसेनले भने सबै आरोप झुट्टा र बनावटी रहेको दाबी गर्दै शेख हसिनाले कुनै पनि हत्याको आदेश दिएको प्रमाण नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार हिंसा ‘अलग समूहले’ गराएको थियो ।
सन् २०२४ अगस्टमा बङ्गलादेशबाट भागेर शेख हसिना नयाँदिल्लीमा बस्दै आउनुभएको छ । त्यहीँबाट उहाँले सबै आरोप अस्वीकार गर्दै आइरहनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.