आज विश्व माटो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिँदै

काठमाडौँ- ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले राससलाई जानकारी दिनुभयो ।

खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको पनि उहाँले सुनाउनुभयो । यस वर्ष स्वस्थ माटोका लागि स्वस्थ सहर भन्ने नाराका साथ विश्व माटो दिवस मनाउन लागिएको हो ।

मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले (आज) शुक्रबार मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक सञ्जेलले बताउनुभयो ।

यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाउने तयारी गरिएको छ ।

नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको उहाँले बताउनुभयो ।

दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य भएको उहाँले बताउनुभयो ।

डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृषि विभागका अधिकारीको भनाइ छ ।

पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको तथ्याङ्कले देखाएको छ । नेपालको अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च रहेको विभागले जनाएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ कम छ ।

नेपालमा प्रतिवर्ष करिब १.८ मिलीमिटर माथिल्लो सतहको माटो भूक्षयका कारण ह्रास हुने गरेको तथ्याङ्क छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च छ । फस्फोरस र पोटास पनि धेरै स्थानमा असन्तुलित अवस्थामा रहेको पाइएको छ ।

सुक्ष्म पोषकतत्वअन्तर्गत जिङ्क, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया कम देखिएको छ । बोरोन विशेषगरी पूर्वी नेपालमा न्यून रहेको विभागले जनाएको छ ।

यसैगरी सिल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम पाइएको छ । यस अवसरमा आज विभागमा औपचारिक रूपमा कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.