मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलका नेताहरुबीच सहमति जुटाउन विभिन्न चरणमा संवाद
सरकार गठनको दावी गर्ने समय सीमा आज साँझ ५ बजेसम्म

काठमाडौँ – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ ।
अहिलेसम्म दलहरुबीच सहमति हुन सकेको छैन । सात दलका नेताहरु विभिन्न चरणमा वार्ताको प्रयास गरिरहेका छन् । यसअघि हिजो भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।
जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।
सात दलका नेता तथा प्रदेशसभा सदस्यहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिनुभयो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिनुभएको छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाउनुभएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम आज ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गर्नुभएको छ ।
प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि बुधबार राजीनामा दिनुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्