माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ-  कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । “तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।”

संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ ।

मन्त्री परियारले भन्नुभएको छ, “माटो कृषि उत्पादनको प्रमुख माध्यम हो, साथै, पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न माटोको महत्वपूर्ण भूमिका रहेको छ, तथापि, सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परेको छ ।”

योसँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उहाँको भनाइ छ । त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उहाँले बताउनुभएको छ । खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापक्रम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन हो, समग्र पर्यावरणीय सन्तुलनका लागि गाउँ र सहरको माटो एकापसमा अन्तरसम्बन्धित रहेका छन्”, सन्देश्मा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.