समुन्नत नेपाल पार्टीको औपचारिक घोषणा,पार्टीको सभापतिमा सर्वेन्द्र खनाल

चितवन – समुन्नत नेपाल पार्टीको औपचारिक घोषणा सभा चितवनमा भएको छ । घोषणा सभाबाट पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल पार्टीको सभापतिमा चयन हुनुभएको छ।
पार्टी उद्घाटन समारोहका अवसरमा ३९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। पार्टीको महामन्त्रीमा वालकृष्ण पण्डित चयन हुनुभएको छ ।
घोषणा सभामा विभिन्न क्षेत्रका व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सभापति खनालले सम्बोधन गर्दै देशमा बढ्दो निराशा, कुशासन र भ्रष्टाचारको अन्त्य गर्दै जनउत्तरदायी र सुशासनयुक्त राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले समुन्नत नेपाल पार्टी स्थापना गरिएको बताउनुभयो।
देशलाई आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितको मार्गमा अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक भइसकेको उहाँको भनाइ छ ।
महामन्त्री वालकृष्ण पण्डितले पार्टीले नागरिकको भावना र चाहनालाई केन्द्रमा राखेर नीतिगत सुधार, रोजगारी सिर्जना र समावेशी विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले पार्टीले व्यवहारिक नीति र परिणाममुखी कार्यक्रममार्फत जनविश्वास जित्ने दाबी गर्नु भयो।
यसैगरी, समुन्नत नेपाल पार्टीका सह–महामन्त्री तथा प्रवक्ता सुदर्शन विक्रम कार्कीले देशको राजनीतिमा जेनजी युवाहरूको भावना र आवाजलाई पर्याप्त रूपमा कदर नगरिएको टिप्पणी गर्नुभयो। उहाँले जेनजी युवाहरूले चलाएको आन्दोलनको पृष्ठभूमिमा धेरै नयाँ दलहरू उदाएको उल्लेख गर्दै अब पुराना राजनीतिक दलको ‘विकल्प खोज्ने बेला आएको बताउनु भयो ।
पार्टीका उपसभापति निर्मल कुमार थापाले अपराधमा संलग्न वा अपराधी छविका व्यक्तिलाई राजनीतिमा अघि सार्ने प्रवृत्तिको कडा विरोध गर्नुभयो। उहाँले समुन्नत नेपाल पार्टीले स्वच्छ छवि, इमानदार र उत्तरदायी व्यक्तिहरूलाई मात्र नेतृत्वमा अघि बढाउने स्पष्ट नीति लिएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.