साँगा–धुलिखेल सडक विस्तारको म्याद एक वर्ष थप

काभ्रे – अरनिको राजमार्गअन्तर्गत सूर्य विनायक–धुलिखेल सडक खण्ड स्तरोन्नतिका क्रममा पर्ने साँगा–धुलिखेल सडक विस्तार आयोजनाको म्याद एक वर्ष थप गरिएको छ ।
सूर्य विनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको पहिलो खण्ड अन्तर्गत पर्ने आठ किलोमिटर लामो साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो । सो आयोजनाको म्याद २०८२ मङ्सिर २५ गते सकिएको थियो । उक्त सडक खण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रा.लीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको हो।
करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । लामा कन्स्ट्रक्सन प्रा.लीका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा ६० प्रतिशत काम सम्पन्न भएको छ । उहाँका अनुसार राजमार्गको पिच बाहेक भौतिक प्रगति ९० प्रतिशत सकिएको जानकारी दिनुभयो ।
हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर र पुल बजार–जनागाल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्रे गरिएको आयोजनाले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्