धनकुटामा आँप खेती गर्ने किसान खोज्न गाउँ–गाउँमा अधिकारी

धनकुटा- आँप खेती ब्लक विकास कार्यक्रम सञ्चालनका लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि किसानबाट आवेदन नपरेपछि धनकुटामा गाउँपालिका र कृषि ज्ञान केन्द्रका अधिकारी गाउँ–गाउँमा पुगेर आँप खेती गर्ने किसान खोज्न थालेका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकामा १ हजार ४ सय रोपनी क्षेत्रफलमा आँप खेती ब्लक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

छथरजोरपाटी गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का तल्लो भेगमा पर्ने बन्चरे, सिंभूवा, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा र ताम्लिङ क्षेत्रलाई आँप खेतीका लागि सम्भाव्य क्षेत्रका रूपमा पहिचान गरिएको छ। यी क्षेत्रमा रहेको बाँझो जमिनको सदुपयोग गर्ने उद्देश्यले किसानसँग ५० प्रतिशत लागत साझेदारीमा आँप खेती ब्लक विकास कार्यक्रम लागू गर्न खोजिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर पटक–पटक सार्वजनिक सूचना आह्वान गर्दा पनि किसानको आवेदन नआएपछि गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी प्रत्यक्ष रूपमा गाउँ पसेका हुन्।

छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना तथा कृषि अधिकृतसहितको टोलीले गाउँमा पुगेर आँप ब्लक विकास परियोजनाको मोडेल, लागत साझेदारी, खेती गर्ने तरिका र यसबाट हुने फाइदाबारे किसानलाई जानकारी गराइरहेको छ।

सङ्घीय सरकारको सहयोगमा आँप ब्लक विकास कार्यक्रमअन्तर्गत खेती विस्तारका लागि ५० प्रतिशत र सिँचाइका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ।

यस कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ, जसमा किसानले पनि त्यत्तिकै लगानी गर्नु कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.