थुनामुक्त भएसँगै लामिछानेले सभापतिको जिम्मेवारी सम्हाल्ने
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएसँगैपार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने भएको छ ।
रास्वपाका कार्यवाहक पार्टी सभापति डोल प्रसाद अर्यालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने थुनामुक्त भएसँगै सभापतिको जिम्मेवारीमा फर्कने जानकारी गराउनु भएको हो । यस्तै रास्वपाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ ।
विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको जारी विज्ञप्तिमा भनिएको छ ।।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज रिहा गरिदैछ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उहालाई रिहा गरिने भएको हो । उच्च अदालतका न्यायाधीश द्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुना मुक्त गर्न आदेश दिएको थियो ।
आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख गरिएको छ । उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिनेछ । उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ ।
लामिछानेले पहिला राख्नुभएको १ करोड रुपैया र हाल भएको आदेशको २ करोड ७४ लाख समेत गरेर जम्मा ३ करोड ७४ लाख ८४ हजार रुपैया धरौटी बुझाएपछि लामिछाने थुनामुक्त हुने अदालतले जनाएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई रिहा गर्न हिजो आदेश भएको हो ।
उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उहासँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै छन् ।






प्रतिक्रिया राख्नुहोस्